Tuesday, November 12, 2013

हामी च्यातिएको लुगा लगाएरै खुशी थियौं

कोदो फापर मकै खाएरै खुशी थियौं

एकदिन,

एनजिओ डोनर साहेब आउनुभयो

हाम्रो फोटो खिच्नुभयो बेच्नुभयो हाम्रो गरिबी डोनर बजारमा

डोनरबजारमा हाम्रो गरिबी विक्यो

एनजिओ डोनर साहेब प्रोजेक्ट लिएर आउनुभयो

उहाँहरुले हाम्रो च्यातिएको लुगा खोस्नुभयो

नयाँ कट्टु गन्जि दिनुभयो

हामी खुशी भयौं

उहाँहरुले, हाम्रो फापर कोदो मकै खोस्नुभयो

विकासे चामल दिनुभयो

हामी खुशी भयौं

हाम्रो खुशीको फोटोले उहाँहरुको रिर्पाेट रङ्गिए

फेरी एकदिन,

एनजिओ डोनर साहेब आउनुभयो

प्रोजेक्ट फिर्ता लिएर जानुभयो

प्रोजेक्ट संगै फिर्ता भयो उहाँहरुले दिएको कट्टु गन्जि

हामी सर्वाङ्ग नाङ्गो भयौं

हिजो हामीसंग च्यातिएकै भएनि कपडा थियो

आज त्यो पनि छैन

हामी कोदो मकै फापर खाएरै पनि बाँचेका थियौं

आज त्यसकॊ खेती पनि छैन

आजभोली,

एनजिओ डोनर साहेब फेरी पनि

हाम्रो नाङ्गो फोटो खिच्दैहुनुहुन्छ

डोनर बजारमा कतै हाम्रो नाङ्गो फोटो विकिहाल्छ कि ?

कतै नयाँ प्रोजेक्ट नयाँ कट्टु पाईपो हालिन्छ कि ?